काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको र ६ जना घाइते भएको घटनाले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ। छठ पर्व मनाउन घर जाँदै गरेका यात्रुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका छन्।
पाँच सदस्यीय छानबिन समिति गठन
दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध रहेको जनाउँदै जीवन गुमाउने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ र शोककूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
घाइतेहरूको उपचार र राहत प्रक्रिया अगाडि बढाइँदै
सरकारले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको छ र स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइसकेको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बीमा कानूनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बीमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बीमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइएको सरकारले जनाएको छ।