नेपाल टेलिकमको आम्दानी सामान्य घट्याे, खुद नाफा भने बढ्याे

Nov 17, 2026 01:54 PM Merolagani



नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) (NTC) ले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार कम्पनीले यस पहिलो त्रैमासमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा समीक्षा अवधिमा कम्पनीको खुद नाफामा ३७.३५ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको करारबाट हुने राजस्व सामान्य घटेर ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँमा सीमित भएकाे छ, जुन गत वर्षको सोही अवधिमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ रहेको थियो। पहिलाे त्रैमासकाे अन्त्यसम्ममा कम्पनीकाे अन्य आम्दानी ११ करोड २६ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी ९ अर्ब ४६ करोड ७६ लाख रुपैयाँ कायम भएको छ। कम्पनीले प्रशासनिक, सञ्चालन तथा कर्मचारी खर्चमा आवश्यक नियन्त्रण गर्दै अपरेटिङ प्रफिट गत वर्षको २ अर्ब ८८ करोड २१ लाख रुपैयाँबाट बढाएर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुर्‍याएको छ।

कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ८४ अर्ब १७ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ, जसले कुल इक्विटीलाई १ खर्ब २८ करोड रुपैयाँभन्दा माथि पुर्‍याएको छ।

वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ४५ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ५६७ रुपैयाँ ६५ पैसा र तरलता अनुपात २.६५ गुणा रहेको छ। कम्पनीको कुल सम्पत्ति प्रतिशेयर ७७० रुपैयाँ १८ पैसा रहेको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।