आम्दानीसँगै बढ्यो हिमालयन डिष्टिलरीको खुद नाफा, ईपीएस कति?

Oct 23, 2024 09:40 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५२.९७ प्रतिशत बढेको छ भने कुल नाफा ४७.६९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८०.४१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ ४५ पैसा बढेर २९ रुपैयाँ ७७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.८६ गुणा रहेको छ।

२ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।