सोमबार नेप्से परिसूचक २१.३० अंक बढेर २७६१.२६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ६ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ५७ हजार १५७ पटकको कारोबारमा ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र विकाश हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नारायणी डेभलपमेन्ट बैंकको यस दिन शतप्रतिशत हकप्रद शेयर समायोजन भएको थियो। त्यस्तै, यस दिन साना किसान लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७६ करोड ९६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब साढे २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन उत्पादन तथा प्रशाेधन र म्युचुअल फण्ड उपसमूहकाे परिसूचक सामान्य अंक घटेकाे हाे।