रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Dec 22, 2025 06:35 AM Merolagani



रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज (पुस ७ गते), सोमबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग विधिमार्फत निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ७ लाख ७० हजार ६४० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँको मूल्य सीमा भित्र बिक्री गरेको थियो।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम सो शेयर बिक्री गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको थियो।

सोही मूल्यमा कम्पनीले दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख १५ हजार ५९८ कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले तेस्रो चरणमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले पुस ७ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता आरबिबि मर्चेण्ट बैंकिङ्ग, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र प्रभु क्यापिटल लिमिटेड रहेका छन्।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० का दरले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा १८ कित्ता शेष रहन्छ। जुन सोही लगानीकर्तामाझ वितरण गरिनेछ। यस अनुसार १६ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। थप १ कित्ता शेयर प्राप्त गर्न लगानीकर्ताले ५० कित्ताभन्दा बढीका लागि आवेदन दिनु पर्नेछ।

पर्याप्त क्षमता जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

केयर रेटिङ्गले कम्पनीलाई केयर एनपी सिंगल ए इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ।

केयर रेटिङ्गले कम्पनीलाई २०७९ मंसिर २२ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८१ असोज १८ गतेसम्म रहेको थियो।

कस्तो कम्पनी हो?

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड २०५१ बैशाख २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०५२ भदौ १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार सञ्चालनको ईजाजत प्राप्त गरी आफ्नो कारोबार निरन्तर सञ्चालन गर्दै आइरहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय (कर्पोरेट कार्यालय) काठमाडौँ महानगरपालिका वडा नं. २८, गणेशस्थान कमलादी, काठमाडौँमा रहेको छ। कम्पनीले आवश्यकता अनुसार स्वीकृति लिई नेपाल भित्र वा विदेशमा समेत शाखा कार्यालय खोल्न सक्नेछ।

कम्पनीको मुल उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२, खनार, सुनसरी र शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं. ४, दुहाबि, सुनसरीमा रहेको छ।

रिलायन्स स्पिनिङ्ग मिल्स नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योग रुपमा रहेको छ। कम्पनीले आफ्नो उत्पादनको ७०—७५ प्रतिशत भन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यू.के. लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट यस कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र युवा प्रबन्ध सञ्चालक अक्षय गोल्याणलाई निर्यात व्यापारको क्षेत्रमा सबैभन्दा बढि निकासी गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याए बापत २०७६ माघ २८ गते महत्वपूर्ण व्यवसायिक व्यक्ति अवार्डबाट समेत सम्मानित गरिएको थियो। त्यसैगरी विभिन्न अन्र्तराष्ट्रिय ख्याति प्राप्त संस्थाहरु, होहेंस्टाइन टेक्सटाइल टेस्टिङ्ग इन्स्टीच्यूट जीएमबीएच एण्ड कम्पनी केजी, श्लासस्टी १ बोनिंग्हेम, जर्मनी÷सीयू इन्स्पेक्सन एण्ड सर्टिफिकेशन्स इण्डिया प्राइभेट लिमिटेडबाट उच्च गुणस्तरीय उत्पादन गरे बापत अन्र्तराष्ट्रियस्तरको प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ।

कम्पनीले मुल उद्योग ‘ए’ को उत्पादन क्षमता तथा पूँजी वृद्धि सम्बन्धमा उद्योग विभागबाट २०७७ मंसिर २६ गते पूँजी तथा क्षमता अभिवृद्धि गर्ने अनुमति प्राप्त गरेको थियो। संशोधित क्षमता अनुसार कम्पनीको उत्पादनलाई विविधिकरण गरी नयाँ उत्पादन कटन यार्न ६ हजार ३०० मेट्रिक टन र भिस्कोस÷सिन्थेटिक यार्न ६ हजार ३०० मेट्रिक टनको थप क्षमता वृद्धि गरेको थियो।

त्यस्तै, २०७९ फागुन २९ मा भएको संसोधितक्षमता अनुसार उत्पादनलाई विविधिकरण गरि नयाँ उत्पादन वार्षिक क्षमता १६ हजार ५६० मेट्रिक टन थप गरि प्रतिदिन १३६ मेट्रिक टन भएको छ। साथै वार्षिक १ हजार ६५० थप हुन गई उद्योगको उत्पादन प्रतिदिन १८२ मेट्रिक टन पुग्ने प्रक्षेपण गरिएको छ। त्यसैगरी, विद्युत शक्तिलाई समेत २३ हजार केभीए पु¥याइएको छ।

कम्पनीले विश्वका प्रतिष्ठित टेक्सटायल मेशिनरी म्यानुफ्याक्चर्स कम्पनीहरु जस्तैः एलएमडब्लु, साभियो, श्लाफहोर्सट/सौरर, विजय लक्ष्मी, पास, मायलोन, मुराता एण्ड आलिधरा टेक्सटुलले प्रयोग गर्ने उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्टबाट धागोको उत्पादन गरिरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न, संकलित पूँजीलाई परिचालन तथा उद्योगको क्षमता विस्तार गरी निर्यात प्रबद्र्धन गरी आयात प्रतिस्थापन गर्दै विदेशी मुद्रा भित्र्याउने उद्देश्यले आईपीओ निष्काशन गरेको हो। त्यस्तै, स्वदेशमा नै रोजगारीको अवसर श्रृजना गरी श्रम शक्तिलाई पलायन हुनबाट रोक्ने, महिलालाई पनि रोजगारीको अवसर दिलाई आय आर्जनमा आत्मनिर्भर बनाउदै महिलाहरुको जीवनस्तर उकास्नमा मद्दत पुर्याउनु पनि आईपीओ निष्काशनको उद्देश्य रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

आईपीओ निष्काशनबाट संकलन भएको रकममध्ये कटन यार्न र पोलिस्टर कटन यार्नको उत्पादन क्षमता वृद्धि गर्नका लागि अन्याधुनिक मेसिन, उपकरण खरिद गर्न १ अर्ब १६ करोड ४० लाख ९ हजार ८८५ रुपैयाँ प्रयोग गरिनेछ। त्यस्तै, ११ करोड १ लाख ९ हजार ४३ रुपैयाँ परियोजना विस्तारका लागि जग्गा खरिद गर्न र ३७ करोड ७५ लाख १६ हजार ७२० रुपैयाँ खरिद गरेको जग्गामा भवन निर्माण गर्नका लागि प्रयोग गरिनेछ।

वित्तीय अवस्था

कम्पनीले प्रकाशित गरेको आव्हान पत्र अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चित मुनाफा ५ अर्ब ३४ करोड ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा रहेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चित मुनाफा ५ अर्ब ८२ करोड ३८ लाख ६० हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८७ पैसा रहेको छ।

अपरिष्कृत वित्तीय विववरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको सञ्चित मुनाफा ५ अर्ब ८९ करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ (विद्युत महसुलको दायित्व गणना गर्नुपर्दाको अवस्थामा) २१० रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८४ पसा रहेको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ५ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकहरु ३ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक १ जना र स्वतन्त्र सञ्चालक १ जना रहने व्यवस्था रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा पवन कुमार गोल्याण रहेका छन्। त्यस्तै, कम्पनीको सञ्चालक शशी कान्त अग्रवाल रहेका छन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्।

भावी योजना तथा रणनीति

उत्पादन विविधिकरण गर्ने, उद्योगसँग सम्बन्धित अनुसन्धान तथा विकास गर्ने, थप उत्पादन विविधिकरण गर्दै विभिन्न ब्राण्डका कपडाका लागि आयात गरिने विभिन्न धागो र धागो जन्य वस्तुलाई मुलुकभित्र नै उत्पादनका लागि आवश्यक अनुसन्धान, नीति तथा नियमका लागि नेपाल सरकार, निजी क्षेत्रसँग हातेमालो गर्दै दीर्घकालिन रुपमा प्रबन्ध गर्ने, उद्योगको क्षमता विस्तार गर्ने तथा उपयुक्त अन्य स्थानमा शाखा उद्योग खोली सञ्चालन गर्ने योजना कम्पनीको रहेको छ।

कम्पनीको मुख्य उद्देश्य नेपालको धागो उद्योग विकासमा यस उद्योगलाई अग्रणी रुपमा विस्तार गरी मुलुककै विशिष्ट उद्योगको रुपमा स्थापित गर्नु रहेको छ। गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राखी देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, उत्पादित वस्तुलाई विश्व बजारमा पु¥याई बजारलाई ब्यापक रुपमा विस्तार गरी गुणस्तरिय उत्पादनको बिक्री वितरण गर्ने र परनिर्भरमूखी अर्थतन्त्रलाई केहि हदसम्म भए पनि न्यून गरी निर्यात प्रर्वद्धन गर्ने जसका कारण मुलुकको व्यापार घाटा केहि हदसम्म न्यून गर्न सकियोस भन्ने कम्पनीको योजना रहेको छ।

उक्त योजनाहरु प्राप्तिका लागि कम्पनीले आफ्नो उत्पादनहरुमा गुणस्तरियता कायम गरी मुलुक तथा मुलुक बाहिर विश्वास जित्नको लागि उल्लेख्य रुपमा रिलायन्सका ब्राण्डसँग कार्य गरिरहेको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ ८० पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि २५० रुपैयाँ ८० पैसादेखि ७५२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।