रोक्का रहेका १ हजार बढी आयोजनाको बजेट खुल्यो, विकास निर्माणका कामले फेरि गति लेला ?

Jan 11, 2026 06:24 AM Merolagani



सरकारले रोक्का राखेका पूर्वाधार सम्बन्धी विभिन्न योजनाहरूको बजेट फुकुवा गर्ने प्रक्रिया सुरु गर्दै साढे ३१ अर्ब रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालयले खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका प्राथमिकता प्राप्त क्षेत्रका १ हजार १ सय ४२ वटा योजनाका लागि ३१ अर्ब ६९ करोड रुपैयाँ बजेट फुकुवा गरेको हो।

मन्त्रालयका अनुसार आवश्यकता, औचित्य र पूर्व तयारीका आधारमा सम्पन्न भइसकेका र सम्पन्न हुन बाँकी रहेका महत्त्वपूर्ण योजनाहरूलाई लक्षित गरी यो बजेट खोलिएको हो। यसअघि अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै रामेश्वर खनालले पूर्व तयारी नभएका र हचुवाका भरमा छनोट गरिएका 'टुक्रे' योजनाहरूको बजेट रोक्का राख्ने घोषणा गरेका थिए।

सोही घोषणा अनुसार भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, खानेपानी, कृषि र उद्योग लगायतका विकासे मन्त्रालयहरूको करिब ९० अर्ब रुपैयाँ बराबरको बजेट होल्ड गरिएको थियो। विशेष गरी ३ करोड रुपैयाँसम्मका खुद्रे योजनाहरूलाई अर्थ मन्त्रालयले अध्ययनका लागि रोक्का राखेको थियो।

तथ्याङ्क अनुसार, सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास, उद्योग र कृषि मन्त्रालयबाट कुल ८९ अर्ब ५४ करोड रुपैयाँका खुद्रे योजनाहरू होल्डमा राखेको थियो। जसमा सहरी विकास मन्त्रालयका मात्रै २ हजार १ सय योजना परेका थिए। यस्तै भौतिक पूर्वाधारतर्फ ४ सय ५० भन्दा बढी योजनाको १३ अर्ब, उद्योग मन्त्रालयअन्तर्गत १ अर्ब ४ करोड र कृषि मन्त्रालयतर्फ ५० करोड रुपैयाँ बजेट रोक्का गरिएको थियो।

अर्थ मन्त्रालयले रोक्का गरिएका योजनाहरूमध्ये दूरगामी प्रभाव पार्ने र काम अघि बढेका आयोजनाहरूको क्रमिक अध्ययन गरी बजेट फुकुवा गर्न थालेको अधिकारीहरूले बताएका छन्। यो कदमले लामो समयदेखि अन्योलमा रहेका विकास निर्माणका कामले फेरि गति लिने अपेक्षा गरिएको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।