तनहुँको डुम्रेदेखि मनाङको चामेसम्म जोड्ने उक्त सडकको स्तरोन्नति सुरु भएको झन्डै ५ वर्ष भइसक्दा पनि आयोजनामा अपेक्षाकृत प्रगति भने हुन नसकेको हो ।
सडक विभागका अनुसार, कुल १०३ किलोमिटर लम्बाइको उक्त सडकखण्डमध्ये हालसम्म १७ किलोमिटर सडक मात्र कालोपत्रे भएको हो । बाँकी खण्ड कच्ची र जोखिमपूर्ण रहेको छ ।
२०७८ बैशाख २२ मा ठेक्का सम्झौता स्तरोन्नति सुरु भएको उक्त आयोजनामा बहुवर्षीय ठेक्का आह्वान गरिएको थियो । उक्त सडक निर्माणको जिम्मेवारी एम र एस आशिष अनेस्ट जेभीले पाएको थियो । तर, निर्माण व्यवसायीले विभिन्न कारणले निर्माणकार्यलाई अघि बढाउन भने सकेको छैन् । सुरुमा साढे २ वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने सम्झौता गरिए पनि विभिन्न कारणले सम्भव हुन सकेन् ।
कोरोना महामारी, बाढी, पहिरोलगायतका कारण सडक स्तरोन्नतिको काममा कठिनाइ उत्पन्न हुँदा आयोजनाको म्याद थप गरिदैँ लगिएको छ । यो सडकखण्डमा दुईवटा प्याकेटमा स्तरोन्नतिको काम भइरहेको छ ।
पहिलो खण्ड डुम्रेदेखि बेशीसहर ३८ किलोमिटर र बेँशीसहरदेखि चामेसम्म ६५ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्छ । हालसम्म १७ किलोमिटर सडक कालोपत्रे र ९ किलोमिटर सडक कालोपत्रेका लागि टेन्डर भएको डुम्रे–बेशीसहर–चामे सडक योजनाका प्रमुख सतिस सुवेदीले बताए ।

‘कुल १०३ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्नेमा हालसम्म १७ किलोमिटर सडकको कालोपत्रे सकिएको छ । बाँकी ९ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया अघि बढेको छ ।’
६० किलोमिटरमा इआइएको ढिलाई
सडक आयोजनाअन्तर्गत करिब ६० किलोमिटर सडक स्तरोन्नति गर्न वातावरणीय प्रभाव मुल्यांकन(इआइए) स्वीकृति नहुँदा अघि बढ्न सकेको छैन् । लामो समयदेखि इआइए स्वीकृत नहुँदा सडक स्तरोन्नति हुन नसकेको आयोजना प्रमुख सुवेदीले बताए ।
‘बेंशीसहर र त्यसभन्दा माथिल्लो क्षेत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र पर्छ । करिब ६० किलोमिटर क्षेत्रको इआइए नहुँदा लामो समय स्तरोन्नतिका काम अघि बढ्न सकेन्,’ उनले बताए ।
उनका अनुसार,पछिल्लो पटक मन्त्रिपरिषद्ले इआइए गर्ने निर्णय गरेसँगै आयोजना तोकिएको अवधिमा सम्पन्न गर्ने अपेक्षा छ । इआइए प्रक्रिया अघि बढ्ने र आउँदो ५ वर्षभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । सडक आयोजनाको आर्थिक वर्ष २०८६।०८७ सम्म म्याद बाँकी छ ।
मनसुनमा हिलो, पहिरो र ढुंगा खस्ने कारणले सडक प्रायः अवरुद्ध हुने गर्छ । जसका कारण सडक स्तरोन्नतिमा समेत समस्या हुँदै आएको आयोजनाले जनाएको छ । सुरुवातमा ३८ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यो सडक आयोजनाको निर्माण अवधि लम्बिएसँगै लागत पनि बढेको आयोजनाले जनाएको छ ।