सचिवालयका अनुसार बिहान ११ बजे विभिन्न स्थानबाट जुलुस सुरु हुनेछ। यस्तो छ विस्तृत विवरणः
रुट नम्बर १, जम्मा हुने स्थानः सुन्धारा
सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन्। काठमाडौँ निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन्। जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।
रुट नम्बर २, जम्मा हुने स्थानः रत्नपार्क
नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौँको उत्तरी क्षेत्रका साथै निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता रत्नपार्कको जुलुसमा सहभागी हुनेछन्। यो जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै विशेष महाधिवेशन स्थल पुग्नेछ।
रुट नम्बर ३, जम्मा हुने स्थानः पद्मकन्या क्याम्पस
बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता यस रुटमा सहभागी हुनेछन्। काठमाडौँका क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता पनि यही जुलुसमा रहने छन्। जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।
रुट नम्बर ४, जम्मा हुने स्थानः शंकरदेव क्याम्पस
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौँ निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता यस जुलुसमा सहभागी हुनेछन्। यो जुलुस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ।
रुट नम्बर ५, जम्मा हुने स्थानः कमलपोखरी
काठमाडौँ निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीमा जम्मा भएर चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन्।
रुट नम्बर ६, जम्मा हुने स्थानः कुपण्डोल
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ताको सहभागिता रहनेछ। यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
उद्घाटन समारोह सकिएलगत्तै आजै बन्द सत्र सुरु गरिने आयोजकले जनाएको छ। यो महाधिवेशन भोलि सोमबारसम्म चल्नेछ। विशेष महाधिवेशनलाई लिएर देशभरबाट ठूलो संख्यामा कांग्रेस नेता–कार्यकर्ता काठमाडौँ भेला भइरहेका छन्। आयोजक समितिले महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जनाएको छ। देशभरबाट हजारौँको सङ्ख्यामा प्रतिनिधि र कार्यकर्ता काठमाडौँ आइपुगेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।
जुलुसका कारण सुन्धारा, रत्नपार्क, पुतलीसडक र त्रिपुरेश्वर क्षेत्रको सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।