काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन महामन्त्री थापाले विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभई संघर्षको विषय भएको बताए ।

विषेश महाधिवेशन आफूहरुको नभई प्रतिनिधिहरुको मागअनुसार आह्वान भएको भन्दै बन्दसत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताए । उनले काँग्रेस लासहरुको पार्टी नभई जिउँदा मानिसहरुको पार्टी भएको स्थापित भएको टिप्पणी गरे । उनले भने, ‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो आजदेखि त्यो भत्कियो । अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । अब माथि बस्नेले तल बस्नेलाई सलाम गर्नुपर्छ तलबाट माथि होइन । यो संघर्ष पार्टीभित्रको कोही बन्ने नबन्ने भन्ने संघर्ष होइन । पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो । भोलि बन्दसत्र छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । मैले पार्टी केन्द्रको रुपमा यो महाधिवेशनको आयोजना गरेको भए यसको एजेण्डा यो यो छ सम्भवतः यहाँ गएर टुंगिन्छ भनेर भन्नसक्थे होला । यो त सदस्यहरुले मागेर भएको महाधिवेशन हो । तपाईहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नुभएको छ । मैले मागेको होइन तपाईहरुले माग्नुभएको छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । किनभने म पनि तपाईहरुले बोलाएर आएको एउटा पाहुना मात्रै हु । भोलि बन्दसत्रले जे निर्णय गर्छ त्यो मेरो लागि स्वीकार्य छ । आजको तपाईको प्रयासहरुले एउटा कुरा स्थापित गरेको छ, काँग्रेस लासहरुको नभई जिउँदा मानिसहरुको पार्टी हो भनेर स्थापित गरेको छ ।’
उनले काँग्रेसमा प्रश्न नमरेको जिकिर गर्दै यहाँ नबोल भन्ने कोही नभएको बताए ।