सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, बजेट अधिवेशन पनि आजबाटै सुरु हुँदै

May 11, 2026 08:20 AM Merolagani



सङ्घीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संविधानको उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने प्रावधान रहेको छ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपराह्न २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन्।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा सुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रबारे जानकारी दिइनेछ। त्यसपछि मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।

यसपटकको अधिवेशनमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेशहरू पनि पेस गर्ने कार्यसूची रहेको छ। जसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ लगायत रहेका छन्। यी अध्यादेशहरू प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा पेस गरिने संसद् सचिवालयले जनाएको छ।