नेपालमा पर्यटक आगमनको नयाँ कीर्तिमान, तर होटेल व्यवसायी भने चिन्तित: पर्यटक बढे पनि किन बढेन अकुपेन्सी ?

Jun 03, 2026 06:34 PM Merolagani



सुवास निरौला

नेपाल पर्यटन बोर्ड (NTB) ले सार्वजनिक गरेको मे २०२६ को पछिल्लो प्रतिवेदन अनुसार नेपाल भित्रिने विदेशी पर्यटकको संख्याले नयाँ कीर्तिमान कायम भएको छ।

यस वर्षको मे महिनामा मात्रै १ लाख २ हजार ६ सय २६ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्ष २०२५ को मे महिना (८६,२१६ जना) को तुलनामा १९.०३ प्रतिशतले बढी हो भने कोभिड महामारीभन्दा पहिलेको सामान्य वर्ष सन् २०१९ को मे महिना (७८,३२९ जना) को तुलनामा ३१.०२ प्रतिशतले बढी हो। कोभिडभन्दा अघिको अवस्थालाई समेत जितेर यसरी ऐतिहासिक रूपमा पर्यटक आगमन बढ्दा स्वाभाविक रूपमा होटेलहरूको अकुपेन्सी (होटेलका कोठाहरू भरिने दर) पनि ह्वात्तै बढ्ने अपेक्षा गरिएको थियो। तर, धरातलीय यथार्थ भने सोचेभन्दा बिलकुलै फरक छ। पर्यटक आगमनमा नयाँ रेकर्ड कायम हुँदा पनि होटेलहरूको व्यावसायिक अवस्था सुध्रन सकेको छैन। 

नेपाल पर्यटन बोर्डको मे २०२६ को रिपोर्टले उत्साहजनक तथ्याङ्क देखाए पनि हानका अध्यक्ष विनायक शाह यसबाट होटेल व्यवसायीहरूले प्रत्यक्ष लाभ लिन नसकेको बताउँछन्। पर्यटकको संख्या उच्च दरमा बढे पनि नेपालका स्तरीय होटेलहरूको औसत अकुपेन्सी अझै पनि ३० प्रतिशत नाघ्न सकेको छैन। यसको प्रमुख कारण माग र आपूर्तिको चरम असन्तुलन रहेको अध्यक्ष शाहको भनाइ छ। उनी भन्छन्—"हामीसँग काठमाडौँ र आसपासका क्षेत्रमा मात्रै दैनिक १० हजार टुरिस्ट स्ट्याण्डर्ड (स्तरीय पर्यटक) कोठाहरू उपलब्ध छन्। तर, यति धेरै पर्यटक आउँदा पनि दिनको जम्मा २ हजारदेखि २५ सय कोठाहरू मात्र बिक्री भइरहेका छन्। बाँकी ७५ प्रतिशत कोठाहरू अझै पनि खाली नै रहने गरेका छन्।" यसले के स्पष्ट पार्छ भने, नेपालमा स्तरीय होटेलका कोठाहरूको आपूर्ति (Supply) अत्यन्तै बलियो छ। तर पर्यटकको आगमन संख्या र उनीहरूको बसाइ अवधि सो अनुपातमा होटेलसम्म पुग्न सकेको छैन। 

अध्यक्ष शाहका अनुसार पर्यटक बढे पनि होटेलको अकुपेन्सी नबढ्नुको सबैभन्दा ठुलो र मुख्य कारण अनौपचारिक क्षेत्र  र अव्यवस्थित होमस्टेहरू हुन्। अहिले नेपाल भित्रिने कुल पर्यटकमध्ये ठुलो हिस्सा होटेलमा बस्नुको साटो अनौपचारिक रूपमा सञ्चालन भइरहेका कोठा, अपार्टमेन्ट र दर्ता विनाका होमस्टेहरूमा बस्ने गरेका छन्। "अहिले करिब ३० प्रतिशतभन्दा बढी पर्यटकहरू होटेलमा नगई सिधै होमस्टे वा अनौपचारिक कोठाहरूमा गएर बस्ने गरेका छन्। विशेषगरी काठमाडौँको कपन, बौद्ध, स्वयम्भू जस्ता क्षेत्रमा रहेका घर-घरमा पर्यटकहरू बस्ने गरेका छन्," अध्यक्ष शाहले भने।

विशेष गरी नेपालमा लामो अवधिको बसाइका लागि आउने आध्यात्मिक पर्यटकहरू (Spiritual Tourists), ध्यान र ध्यान साधना (Meditation) का लागि आउने विदेशीहरू तथा बौद्ध धर्म गुरु (रिम्पोचे) हरूलाई पछ्याउँदै आउने अनुयायीहरू बौद्ध र कपन क्षेत्रका स्थानीय घरहरूमा २ देखि ३ महिनासम्म कोठा भाडामा लिएर बस्ने गर्छन्। ती घरहरूमा अनौपचारिक रूपमा दुईदेखि तीन वटा कोठाहरू पर्यटक राख्नकै लागि प्रयोग गरिएका हुन्छन्। यस्ता आवास सुविधाहरू राज्यको आधिकारिक निकायमा दर्ता नभएका र करको दायराभन्दा बाहिर रहेका अनौपचारिक क्षेत्र हुन्। यसले गर्दा पर्यटकको संख्या रेकर्ड स्तरमा पुगे पनि ठुला र दर्ता भएका होटेलहरू भने खाली रहने अवस्था सिर्जना भएको हो।

अनौपचारिक क्षेत्रले गर्दा अर्बौँ लगानी भएका होटेल उद्योगहरू संकटमा परेपछि यस्ता आवास सुविधाहरूलाई नियमन गर्नुपर्ने आवाज चौतर्फी रूपमा उठेको छ। अध्यक्ष शाहका अनुसार अहिले पर्यटन विभागले यस विषयमा गम्भीरताका साथ काम सुरु गरेको छ। अहिले 'एयरबीएनबी' (Airbnb) र अनरजिस्टर्ड होमस्टेहरू जस्ता अनौपचारिक क्षेत्रलाई कसरी नियमन गर्ने र करको दायरामा ल्याउने भन्नेबारे पर्यटन विभागका महानिर्देशकसहितको टोली लागिपरेको छ। विभागले अनौपचारिक क्षेत्रलाई व्यवस्थित गर्नका लागि नयाँ मापदण्ड (Standard/Guidelines) तयार पारिरहेको छ। यस मापदण्डले दर्ता नभई चलिरहेका आवासहरूलाई कानुनी दायरामा ल्याउने र यदि तोकिएको मापदण्ड पूरा नगरेमा सञ्चालन गर्न नदिने गरी नियमन गर्ने तयारी गरेको छ।

नेपाल पर्यटन बोर्डको मे २०२६ को तथ्याङ्कले नेपालको पर्यटन बजार पुनः लयमा फर्किएको र यसले नयाँ उचाइ चुमेको सुखद संकेत त गर्दछ। तर, दर्तावाला होटेलहरूको निराशाजनक अकुपेन्सीले नीतिगत तहमा ठुलो कमजोरी रहेको देखाउँछ। राज्यले एकातिर कर तिर्ने र व्यवस्थित पूर्वाधार भएका होटेलहरूलाई संरक्षण गर्न सकेको छैन भने अर्कोतर्फ कर छलेर चल्ने अनौपचारिक आवासहरू फस्टाइरहेका छन्।

पर्यटकको संख्या बढेर मात्र पुग्दैन, उनीहरूबाट देशले कति आय गर्छ र त्यसले औपचारिक अर्थतन्त्रमा कति योगदान पुर्‍याउँछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसैले, पर्यटन विभागले अघि सारेको नयाँ नियमन मापदण्डलाई चाँडै कार्यान्वयन गरी अनौपचारिक होमस्टे र कोठाहरूलाई व्यवस्थित गर्न सके मात्र नेपालको होटेल व्यवसायले पर्यटन वृद्धिको वास्तविक लाभ पाउन सक्ने शाहको भनाई छ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।