फ्रान्स विरुद्ध सेनेगल
न्युयोर्करन्युजर्सी स्टेडियममा भएको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्यो। पहिलो हाफमा सेनेगलले बलियो रक्षापंक्ति प्रदर्शन गर्दै फ्रान्सलाई रोकेको थियो। सेनेगलका निकोलस ज्याक्सनको प्रहार पोलमा ठोकिएको थियो भने इस्माइला सारले पनि गोल गर्ने सुनौलो अवसर गुमाएका थिए।
C7# दोस्रो हाफमा आक्रामक बनेको फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले ६६औँ मिनेटमा पहिलो गोल गरे। ८१औँ मिनेटमा वैकल्पिक खेलाडी ब्राड्ली बार्कोलाले गोल गर्दै अग्रता २–० बनाए। खेलको इन्जुरी समयमा सेनेगलका युवा खेलाडी इब्राहिम म्बायले एक गोल फर्काए। तर त्यसको केही सेकेन्डमै एम्बाप्पेले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै फ्रान्सको जित निश्चित गरे।
यो दुई गोलसँगै एम्बाप्पे (५८ गोल) ओलिभर जिरुड (५७ गोल) लाई पछि पार्दै फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
इराक विरुद्ध नर्वे
बोस्टन स्टेडियममा भएको अर्को खेलमा २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले इराकमाथि ४–१ को सहज जित दर्ता गर्यो। स्टार स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको २८औँ र ४२औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
खेलको ३८औँ मिनेटमा इराकका आयमेन हुसेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए, तर उनीहरूले त्यो लय टिकाइराख्न सकेनन्। दोस्रो हाफमा नर्वेले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो। ७५औँ मिनेटमा लियो ओस्टिगार्डले नर्वेका लागि तेस्रो गोल गरे। खेलको अन्तिम समयमा इराकका आयमेन हुसेनबाट आत्मघाती गोल हुन पुग्दा नर्वे ४–१ ले विजयी भयो।
समूह आई को वर्तमान तालिका
यस जितसँगै गोल अन्तरका आधारमा नर्वे समूहको शीर्ष स्थानमा रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ। सेनेगल र इराकले भने आफ्नो अर्को खेलमा पुनरागमन गर्ने प्रयास गर्नेछन्।