खेलको सुरुवातमा नै न्युजिल्यान्डका एलिजाह जस्टले सुरुवाती गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।तर, खेलको ३१ औँ मिनेटमा इरानका डिफेन्डर रामिन रेजैयानले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याए। दोस्रो हाफ सुरु भएको केही समयमै एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए। खेलको ६३औं मिनेटमा इरानका मोहम्मद मोहेबीले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई २–२ को रोमाञ्चक मोडमा पुर्याए।
विश्व वरीयतामा २०औं स्थानमा रहेको इरानलाई ८५औं स्थानमा रहेको न्युजिल्यान्डले कडा टक्कर दिएको थियो। न्युजिल्यान्डका एलिजाह जस्ट यस खेलको मुख्य आकर्षण बने, जसले विश्वकपको इतिहासमा न्युजिल्यान्डका लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान समेत बनाएका छन्। इरानले खेलको अन्त्यतिर केही राम्रा अवसरहरू सिर्जना गरे पनि न्युजिल्यान्डको बलियो रक्षापंक्तिलाई तोड्न सकेन र दुवै टोली १–१ अंक चित्त बुझाउन बाध्य भए।