खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाए तापनि रक्षापंक्ति मजबुत हुँदा पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा डच टोलीले दबाब बढाउँदै खेलको ७२औँ मिनेटमा अग्रता लियो। क्रिसेन्सियो समरभिलको उत्कृष्ट पासलाई सदुपयोग गर्दै कोडी गाक्पोले गोल गरी टोलीलाई १–० को अग्रता दिलाएका थिए। खेल नेदरल्याण्ड्सको पक्षमा जाने निश्चित देखिँदै गर्दा इन्जुरी समयको पहिलो मिनेटमा चेम्सदिन ताल्बीको पासमा मोरक्कोका इसा डियोपले हेडमार्फत सानदार बराबरी गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा धकेले।
थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा मोरक्कोले खेलमा बढी नियन्त्रण राखेको थियो। मोरक्कोका सुफियान राहिमीको प्रहारलाई डच गोलकिपर बार्ट भर्ब्रूगेनले उत्कृष्ट बचाउ गरेपछि अतिरिक्त समयमा थप गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा पुग्यो।
पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सका तर्फबाट ट्युन कोपमेइनर्स र वाउट वेघोर्स्टले गोल गरे भने जस्टिन क्लुइभर्ट, क्विन्टेन टिम्बर र क्रिसेन्सियो समरभिल गोल गर्न चुके। मोरक्कोका लागि सुफियान राहिमी, चेम्सदिन ताल्बी र निर्णायक प्रहारमा इस्माइल साइबारीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
यो जितसँगै मोरक्को विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ, जहाँ उसले क्वाटरफाइनल प्रवेशका लागि क्यानडाको सामना गर्नेछ। डच टोलीको भने यस पराजयसँगै विश्वकप यात्रा समाप्त भएको छ।