केही प्रवर्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला इप्पानले यस्तो धारणा सार्वजनिक गरेको हो।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार स्थानीयलाई लाभान्वित गराउने उद्देश्यले छुट्याइएको १० प्रतिशत सेयर अंकित मूल्यमै दिनुपर्नेमा जोड दिए ।
अंकित मूल्यमै किन ?
इप्पानका अनुसार जलविद्युत् आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दाले जग्गा उपलब्ध गराउनेदेखि वातावरणीय र सामाजिक प्रभावहरू भोग्दै आएका हुन्छन्। ‘निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजना सफल बनाउन प्रत्यक्ष सहयोग गर्ने स्थानीयलाई आयोजनाको स्वामित्वमा सहभागी गराउनु नै सेयरको मुख्य उद्देश्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि प्रिमियम मूल्यमा सेयर निष्कासन गरियो भने स्थानीयको पहुँच सीमित हुने र आयोजनाप्रतिको अपनत्व कमजोर हुन सक्छ।’
स्थानीयलाई सस्तो (अंकित) मूल्यमा सेयर दिँदा आयोजना र समुदायबीचको विश्वास बलियो हुने, सामाजिक विवाद कम हुने र आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण बन्ने इप्पानको ठहर छ। यसले स्थानीयको आर्थिक सशक्तीकरण र सामाजिक सद्भावमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
नियामक निकायको ध्यानाकर्षण
नियामकीय झन्झटका कारण लामो समयदेखि जलविद्युत् कम्पनीहरूको साधारण सेयर निष्कासन प्रक्रिया रोकिएकोप्रति पनि इप्पानले चिन्ता व्यक्त गरेको छ। सेयर निष्कासनमा भएको ढिलाइले प्रवर्धकहरू समस्यामा परेको भन्दै इप्पानले प्रक्रियालाई सरल,पारदर्शी र समयबद्ध बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
इप्पानले आफ्ना सम्पूर्ण सदस्य कम्पनीहरूलाई पनि स्थानीयको हित र आयोजनाको दीर्घकालीन स्थायित्वका लागि प्रति कित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउने नीति अवलम्बन गर्न आग्रह गरेको छ।
हाल नेपालको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको र ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन स्थानीयको साझेदारी अनिवार्य रहेको इप्पानको निष्कर्ष छ।