शुक्रबार नेप्से परिसूचक ७.३७ अंक घटेर २६४३.८३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४४ स्टकको ४३ हजार ६० पटकको कारोबारमा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँबराबरको ९७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र विकास हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १२.८३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एग्रीकल्चरल बण्ड (९ वर्षे) शीर्ष स्थानमा रहेको छ। यस दिन ७० करोड ८७ लाख ९९ हजार रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। त्यस्तै, यस दिन खानी खोला हाइड्रोपावर कम्पनीको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लिबर्टी इनर्जी कम्पनीको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५७ प्रतिशत घटेको छ।