नाडा अटो शोमा १९ चारपांग्रे, १० दुईपांग्रे र १७ लाइट कमर्सियल ब्रान्डको उपस्थिति हुने , विद्युतीय सवारी मुख्य आकर्षण

Aug 21, 2026 11:01 AM Merolagani



हरिप्रसाद शर्मा
नाडा अटो शो २०२६ आगामी भदौ ९ गते देखि १४ गते अर्थात २५ देखि ३० अगस्टसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने यस वर्षको प्रदर्शनी नाडाको १८औँ संस्करण तथा संस्थाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुँदैछ। ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ नाम दिइएको प्रदर्शनीमा यात्रुवाहक कार, विद्युतीय सवारीसाधन, दुईपांग्रे, लाइट कमर्सियल भेहिकल, अटो पार्ट्स, टायर,लुब्रिकेन्ट, ब्याट्री, एसेसरिज, ग्यारेज उपकरण, चार्जिङ पूर्वाधार तथा वित्तीय र बीमा सेवासमेत प्रदर्शन गरिने नाडाले जनाएको छ।

४६ वटा सवारी ब्रान्डका स्टल

नाडाले यस वर्षको प्रदर्शनीका लागि स्टल बाँडफाँटको प्रक्रिया सम्पन्न गरिसकेको छ। गोलाप्रथाबाट १९ वटा यात्रुवाहक सवारी ब्रान्ड, १० वटा दुईपांग्रे ब्रान्ड र १७ वटा लाइट कमर्सियल भेहिकल ब्रान्ड गरी कुल ४६ वटा सवारी ब्रान्डका लागि स्टल छुट्याइएको छ। त्यसैगरी ४५ वटा अटो कम्पोनेन्ट तथा एसेसरिज कम्पनीलाई ७६ वटा साना स्टल उपलब्ध गराइएको छ।

यसरी सवारीसाधन तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न क्षेत्रका कम्पनीलाई एउटै प्रदर्शनीमा समेटिएको छ। नाडाले यस वर्षको स्टल बाँडफाँट गोलाप्रथाबाट गरेको थियो। सहभागी कम्पनीका प्रतिनिधि तथा नाडाका पदाधिकारीको उपस्थितिमा स्टल बाँडफाँट सम्पन्न गरिएको नाडाले जनाएको छ।

विद्युतीय सवारीमा केन्द्रित हुने

यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसाधन मुख्य आकर्षणमध्ये एक हुने अपेक्षा गरिएको छ। नाडाका अनुसार प्रदर्शनीमा पेट्रोलियम सवारीसाधनसँगै ईभी, चार्जिङ पूर्वाधार र नयाँ मोबिलिटी प्रविधिसमेत प्रदर्शन गरिनेछ।

पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीको प्रतिस्पर्धा बढिरहेका बेला नाडा अटो शोमा पनि विभिन्न नयाँ तथा विद्युतीय मोडल देखाइने तयारी छ। यस वर्ष नाडा शोमा सहभागी हुने ब्रान्डमा Tata, Suzuki, Skoda, Deepal, Nammi, Avatr, Aion, Xpeng, Dongfeng (Dyun), Riddara र Geely लगायतका चारपांग्रे ब्रान्ड तथा दुईपांग्रे ब्रान्ड रहने जानकारी सार्वजनिक भएको छ। यसबाट यस वर्षको प्रदर्शनीमा परम्परागत इन्धनबाट चल्ने सवारीसाधनसँगै ईभी प्रविधि र नयाँ ब्रान्डबीचको प्रतिस्पर्धा मुख्य आकर्षण बन्ने देखिएको छ।

नेपालमै बनेका तथा एसेम्बल भएका सवारीलाई प्राथमिकता

नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यस वर्षको प्रदर्शनीलाई केवल सवारीसाधन बिक्रीको प्रदर्शनीका रूपमा मात्र नभई नयाँ प्रविधि, नवप्रवर्तन र नेपाली अटोमोबाइल उद्योगको आगामी दिशाबारे जानकारी दिने प्लेटफर्मका रूपमा अघि बढाउने तयारी छ।

प्रदर्शनीमा नेपालमै एसेम्बल वा उत्पादन भएका सवारी तथा अटोमोबाइलसम्बन्धी उत्पादनलाई समेत स्थान दिने तयारी गरिएको छ। यसले नेपाली अटोमोबाइल उद्योगमा स्थानीय एसेम्बली र उत्पादनको सम्भावनालाई पनि प्रदर्शनीको विषय बनाउनेछ।

पहिलोपटक अन्तर्राष्ट्रिय बिजनेस प्याभिलियन

यस वर्षको नाडा अटो शोमा पनि राखिँदैछ। नाडाका अनुसार यस प्याभिलियनमा विदेशी कम्पनी तथा उत्पादकले नेपाली व्यवसायी र सम्भावित साझेदारसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर पाउनेछन्। यसमा अटोमोबाइलसँग सम्बन्धित विदेशी कम्पनी, उद्योग, सरकारी निकाय तथा गैरनाफामूलक संस्थाले सहभागी हुन सक्नेछन्। नाडाले यस प्याभिलियनलाई विदेशी लगानी, प्रविधि हस्तान्तरण, व्यापारिक साझेदारी तथा अन्तर्राष्ट्रिय सहकार्यको अवसरका रूपमा अघि बढाउने जनाएको छ।

बैंक, बीमा र वित्तीय सेवासमेत

नाडा अटो शोमा सवारीसाधन बिक्री गर्ने कम्पनी मात्रै नभई बैंक तथा वित्तीय संस्था,बीमा कम्पनी, अटो पार्ट्स तथा सेवा प्रदायकसमेत सहभागी हुनेछन्। यसले सवारी खरिदकर्तालाई गाडी हेर्ने मात्र नभई फाइनान्सिङ, बीमा, स्पेयर पार्ट्स, सर्भिस तथा अफ्टर–सेल्स सेवाबारे जानकारी लिन सक्ने एउटै प्लेटफर्म उपलब्ध गराउनेछ। नाडाले अटो शोमा वित्तीय तथा अन्य अटोमोबाइलसम्बन्धी सेवा पनि समेटिएको जनाएको छ।

एउटै वर्ष काठमाडौंमा दुई ठूला अटो शो

यस वर्ष नेपालको अटोमोबाइल क्षेत्रमा अर्को महत्वपूर्ण पक्ष भनेको नाडा र नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा) ले छुट्टाछुट्टै अटो शो आयोजना गर्नु हो। नाइमाले आफ्नो नेपाल मोबिलिटी एक्स्पो ११ देखि १६ अगस्टमा भृकुटीमण्डपमै आयोजना गरिसकेको छ भने नाडाले २५ देखि ३० अगस्टमा सोही प्रदर्शनीस्थलमा अटो शो गर्दैछ। दुवै संस्थाबीच अटोमोबाइल व्यवसायीको प्रतिनिधित्व र प्रदर्शनीको प्रभावकारितालाई लिएर प्रतिस्पर्धा देखिएको छ।

अटो बजारका लागि किन महत्वपूर्ण ?

नाडा अटो शो केवल नयाँ गाडी प्रदर्शन गर्ने कार्यक्रम मात्र नभई नेपालको अटोमोबाइल बजारको माग, नयाँ प्रविधि, मूल्य प्रतिस्पर्धा र उपभोक्ताको रुचि बुझ्ने प्रमुख व्यावसायिक प्लेटफर्म पनि हो। विशेषगरी नेपालमा ईभीको बजार विस्तार भइरहेको अवस्थामा नयाँ ब्रान्ड तथा मोडलको प्रवेश, चार्जिङ पूर्वाधारको विस्तार, वित्तीय संस्थाबाट उपलब्ध कर्जा तथा बीमा सेवाले आगामी बजारको दिशा निर्धारण गर्नेछन्।

यस वर्षको प्रदर्शनीमा ४६ वटा सवारी ब्रान्ड र ४५ वटा अटो कम्पोनेन्ट कम्पनीको सहभागिताले नेपालको अटोमोबाइल बजारमा उत्पादन र ब्रान्डको विविधता बढ्दै गएको देखाउँछ। नाडाका अनुसार प्रदर्शनीको उद्देश्य व्यापारसँगै नवप्रवर्तन, प्रविधि, दिगो मोबिलिटी, सडक सुरक्षा र अटोमोबाइल उद्योगको विकासबारे सरोकारवालाबीच सहकार्य र संवाद बढाउनु पनि हो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।