कम्पनीले मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको अटो शोमार्फत यसको बिक्री सुरु गरेको हो।

डेल्टा अटोकर्पले नयाँ एसआर १७५ को मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ तोकेको छ। नाडा अटो शोको अवधिमा यो स्कुटर खरिद गर्ने ग्राहकलाई कम्पनीले २८ हजार रुपैयाँ नगद छुट प्रदान गर्ने विशेष योजना समेत सार्वजनिक गरेको छ।
अप्रिलिया इन्डियाले चर्चित एसआर १६० को विकल्पका रूपमा ल्याएको यो मोडल अब नेपाली सडकमा पनि गुड्ने भएको छ। यसमा १७४.७ सीसीको सिंगल सिलिन्डर, बीएस–६ इन्जिन जडान गरिएको छ। यस इन्जिनले ७ हजार २०० आरपीएममा १३.८ ब्रेकहर्स पावर र ६ हजार आरपीएममा १४.१४ एनएम पिक टर्क उत्पादन गर्छ।
अप्रिलियाको सिग्नेचर ‘रेसिङ डीएनए’ डिजाइनलाई निरन्तरता दिइएको यस स्कुटरमा पहिलोपटक प्रिमियम मोटरसाइकल टुनो ४५७ मा रहेको ५.५ इन्चको कलरफुल टीएफटी डिस्प्ले उपलब्ध गराइएको छ। यसका साथै एसआर १७५ मा
अप्रिलिया एपसहितको ब्लूटुथ कनेक्टिभिटी सिस्टम,फुल एलईडी लाइट सेटअप, १४ इन्चको ठूलो अलोय ह्वील र ट्युबलेस टायर, अगाडि डिस्क ब्रेक र सिंगल च्यानल एबीएसको सुविधा, अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सेटअप समावेश छ ।
डिजाइनमा एग्रेसिभ रेसिङ स्पोर्ट कलर लाइन र नयाँ डेकल्स प्रयोग गरिएको यो स्कुटरले नेपाली युवा र स्पोर्टी राइड मन पराउने ग्राहकहरूमाझ बलियो उपस्थिति बनाउने अपेक्षा गरिएको छ। नाडा अटो शोमा अप्रिलियाको स्टलमा पुगेर ग्राहकले यसको प्रत्यक्ष अवलोकन र बुकिङ गर्न सक्नेछन्।