हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा प्राप्त अत्यधिक प्रतिक्रिया र बलियो ग्राहक मागलाई सम्बोधन गर्दै कम्पनीले यो विशेष अफर ल्याएको हो। यस योजनाअन्तर्गत पहिलो १०० ग्राहकले जेको जे५ प्रो अब मात्र ४७.९९ लाखमा खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पो (अगस्ट ११–१६) को अवधिमा गाडी बुकिङ गरिसकेका ग्राहकहरूलाई पनि यही विशेष मूल्य योजना लागू हुनेछ। प्रिमियम प्रविधि र शक्तिशाली प्रदर्शन खोज्ने ग्राहकका लागि यो विशेष अवसर भएको कम्पनीको भनाइ छ।
जेको जे५ ले अन्तर्राष्ट्रिय बजारमा, विशेषगरी थाइल्यान्ड र इन्डोनेसियामा ‘नम्बर १ बेस्ट–सेलिङ’ इलेक्ट्रिक एसयूभीका रूपमा आफूलाई स्थापित गरिसकेको छ। सोही सफलतालाई नेपाली बजारमा पनि निरन्तरता दिने कम्पनीको लक्ष्य छ।
यस्ता छन् जेको जे५ प्रो का मुख्य विशेषताहरू
यसमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर छ, जसले २८८ एनएम टर्क उत्पादन गर्छ। ५०.७ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। नेपाली सडक अनुकूल १८५ एमएमको ग्राउन्ड क्लियरेन्स र फुल साइज स्पेयर टायर यसको मुख्य सबल पक्ष हो।
त्यस्तै, १९ भन्दा बढी एडास सुरक्षा फिचर्स, ३६० डिग्री क्यामेरा र ४८० लिटरको बुटस्पेस उपलब्ध छ। प्यानोरामिक मुनरुफले यसलाई थप प्रिमियम बनाएको छ।
ग्राहकको विश्वास र ढुक्कताका लागि कम्पनीले जेको जे५ प्रो मा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर (जुन पहिले आउँछ) सम्मको विस्तारित वारेन्टी प्रदान गरेको छ। यो वारेन्टी नेपाली ईभी बजारमै उत्कृष्ट मध्येको एक हो।
सीमित अवधिका लागि ल्याइएको यो ४७.९९ लाखको योजना पहिलो १०० ग्राहकमा मात्र लागू हुने भएकाले इच्छुक ग्राहकलाई चाँडै आफ्नो गाडी सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ।