भारतको केरलामा महाबलिलाई आफ्नो प्रिय राजा मानेर ओणम मनाइन्छ। नेपालको कर्णालीमा जुम्लाका राजा बलिराजाको नाममा देउसी–भैलो र पुसे भैलोको जनश्रुति जोडिएको छ। के यी सबै एउटै राजाका फरक कथा हुन् ? अथवा फरक कालखण्डका शासकलाई एउटै सांस्कृतिक नामले चिनिएको हो ?
तिहारमा देउसी खेल्दा ‘बलि राजाले पठाएको’ भन्ने पङ्क्ति सुनिन्छ। तर बलि राजा को थिए भन्ने प्रश्नको उत्तर खोज्न थाल्ने हो भने हामी नेपालको पाल्पा, कर्णालीको जुम्ला हुँदै भारतको केरलासम्म पुग्छौँ।
यी तीनवटै परम्परालाई छुट्टाछुट्टै अध्ययन गरेर मात्र बलि राजाको वास्तविक ऐतिहासिक पृष्ठभूमि बुझ्न सकिन्छ।
पाल्पाका बलिहाङ : मगर राज्यका शासक कि सांस्कृतिक स्मृतिका राजा ?
नेपालमा बलि राजाको इतिहास खोज्दा पाल्पाको बल्ड्याङगढीको नाम सबैभन्दा पहिले आउँछ।
इतिहासकार इमानसिंह चेम्जोङले बलि राजालाई मगर समुदायसँग सम्बन्धित शासकका रूपमा व्याख्या गरेका छन्। बलि राजा राना मगर वंशका भएको र उनको शासन न्याय तथा प्रजाप्रेमका लागि चर्चित रहेको जनश्रुति छ। उनको व्याख्यालाई उद्धृत गर्दै आश्विन ३१, २०७४ कान्तिपुरमा प्रकाशित गणेश राईको ‘जनजातिको तिहार’ शीर्षकको आलेखले बलि राजाको राज्य पाल्पाको बल्ड्याङगढीदेखि भारतको गोरखपुरसम्म फैलिएको उल्लेख गरेको छ।
तर पाल्पाका बलिहाङको चर्चा केवल मौखिक परम्परामा मात्र सीमित छैन। ब्रिटिस इतिहासकार फ्रान्सिस बुकानन ह्यामिल्टनले सन् १८१९ मा प्रकाशित आफ्नो पुस्तक An Account of the Kingdom of Nepal मा पाल्पाका राजा गन्धर्व सेनले गुल्मी र खाँचीका राजाको सहयोग लिएर बलिहाङ नामको मगर मुखियाको अधीनमा रहेको भूभाग कब्जा गरेको उल्लेख गरेका छन्।
ह्यामिल्टनले बलिहाङका पहाड र तराई दुवैतर्फ ठूलो भूभाग रहेको तथा त्यसको ठूलो हिस्सा पाल्पाले प्राप्त गरेको विवरण दिएका छन्।
बलिहाङको राज्य कहाँसम्म फैलिएको थियो ?
इतिहासकार इमानसिंह चेम्जोङको व्याख्यामा पाल्पाको बल्ड्याङगढीदेखि गोरखपुरसम्मको क्षेत्र बलि राजाको अधीनमा रहेको उल्लेख छ।
अर्कोतर्फ, प्राध्यापक राजाराम सुवेदीको मगर जातिको नालिबेली लाई आधार बनाएर प्रकाशित सामग्रीमा बलिहाङले चार हजार योद्धाको सैन्य शक्ति निर्माण गरेको र बलिहाङगढी नामको किल्ला त्यसैसँग जोडिएको जनश्रुति उल्लेख गरिएको छ।
यसबाट पाल्पामा कुनै समय मगर राजनीतिक शक्ति र किल्ला प्रणाली रहेको ऐतिहासिक सम्भावना देखिन्छ।
बलिहाङको मृत्युलाई तिहारसँग कसरी जोडियो ?

पाल्पाका बलिहाङबारे प्रचलित अर्को कथा झन् रोचक छ, मगर समुदायको जनश्रुतिअनुसार बलिहाङले आफ्नो मृत्यु नजिकिएको पूर्वानुमान गरेका थिए। उनले प्रजालाई बोलाएर आफ्नो मृत्युको दिन घरघरमा बत्ती बाल्न र सामूहिक रूपमा उत्सव मनाउन आग्रह गरे।
राजाको मृत्युबाट दुःखी भएका प्रजाले उनको निर्देशनअनुसार गाउँभरि बत्ती बाले। घरघर उज्यालो भयो। मानिसहरूले राजाको गुणगान गाए र उनलाई बचाउन सामूहिक प्रार्थना गरे।
जनश्रुतिअनुसार मृत्युका देवता जनताको यस्तो प्रेम र सामूहिक भावनाबाट प्रभावित भएर फर्किए। राजा बलिहाङ बाँचे र त्यसैको सम्झनामा दीपावली मनाउने परम्परा सुरु भयो।
जुम्लाका बलिराजा : देउसी–भैलोको उत्पत्तिसँग जोडिएको ऐतिहासिक शासक
जुम्लाका बलिराज रावल कल्याल वंशका संस्थापक तथा प्रारम्भिक शासकका रूपमा चिनिन्छन्। उनको शासनकालबारे इतिहासकारहरूले विभिन्न स्रोतका आधारमा अध्ययन गरेका छन्।
सन् २०२१ मा इयान अल्सप, काशीनाथ तामोट र पुण्यप्रसाद पराजुलीले प्रकाशित गरेको In the Khasa Malla Tradition: A Thangka of Vikram Shahi (r. 1602–1631), King of Jumla नामक अनुसन्धान सामाग्रिले
बलिराजलाई करिब सन् १४०४ देखि १४४५ सम्म जुम्लामा शासन गरेका शासकका रूपमा प्रस्तुत गरेको छ। उनी जुम्ला राज्यमा कल्याल वंशको राजनीतिक शक्ति स्थापित गर्ने पहिलो ऐतिहासिक रूपमा उल्लेखनीय शासक थिए।
पुरातत्त्व विभागको अनुसन्धान पत्रिका प्राचीन नेपाल मा प्रकाशित कल्याल वंशसम्बन्धी अध्ययनले पनि सन् १४०४ मा बलिराज जुम्लाका राजा बनेको र सुनारगाउँलाई राजधानी बनाएको विवरण दिएको छ। त्यस अध्ययनमा विक्रम संवत् १४५५ देखि १५०२ सम्मको शासन अवधि उल्लेख गर्ने वंशावलीको पनि चर्चा छ।
बलिराजाले किन देउसी खेल्न लगाए ?
जुम्लाका बलिराजाको नाममा देउसी–भैलोको उत्पत्तिबारे एउटा प्रसिद्ध जनश्रुति छ।
उक्त जनश्रुति अनुसार बलिराजाको राज्यमा बाह्य आक्रमण भयो। युद्धमा बलिराजाका छोरा वत्सराजले अद्भुत साहस देखाए। युद्धको अन्त्यमा शत्रु सेनाका प्रमुखसँग उनको असाधारण भेट भएको र शत्रु पक्षका नेताले उनलाई मीत मानेको जनश्रुति छ।
त्यसपछि ती मीतलाई घर फर्काउन आवश्यक बाटो खर्च जुटाउन बलिराजाले आफ्ना प्रजाबाट अन्न र नगद सङ्कलन गर्न मानिसहरू पठाएको भनाइ छ।
जुम्लामा तिहारको देउसीभन्दा फरक समयमा पुस महिनामा पनि भैलो खेल्ने परम्परा छ।
जुम्लाको लोकगीतमा ऋतु परिवर्तन, अन्नबाली, भूगोल र स्थानीय सामाजिक जीवनका प्रसङ्ग पाइन्छन्। यसले भैलो परम्परा केवल धार्मिक पर्वको अभ्यास नभई कृषि समाजको मौसमी जीवनसँग पनि जोडिएको देखाउँछ। यस अर्थमा जुम्लाका बलिराजाको कथाले देउसी–भैलोलाई स्थानीय अर्थतन्त्र र राज्य सञ्चालनको इतिहाससँग जोड्ने सम्भावना देखाउँछ
केरलाका महाबलि : भारतमा समृद्ध र समानतामूलक राज्यको प्रतीक
नेपालका बलिहाङ र बलिराजाको कथा बुझिसकेपछि भारतको केरलामा पुग्दा बलि राजाको अर्को स्वरूप देखिन्छ। केरलामा उनलाई महाबलि वा मावेली भनिन्छ। ओणम पर्वको सबैभन्दा लोकप्रिय पात्र उनी नै हुन्। केरलाको जनविश्वासअनुसार महाबलिको शासनकालमा सबै मानिस समान थिए। धनी–गरिबबीच विभेद थिएन। चोरी, ठगी, अन्याय र अभाव थिएन। जनताले सुख र समृद्धिका साथ जीवन बिताउँथे। उनको यही आदर्श शासनको सम्झनामा ओणम मनाइन्छ। ओणमका बेला महाबलि आफ्ना पुराना प्रजा भेट्न पृथ्वीमा फर्किने विश्वास गरिन्छ।
इतिहासकार एमजी ससिभूषणका अनुसार मध्यकालीन केरलामा किसानहरूले आफ्नो उत्पादन जमिनदार ब्राह्मणहरूलाई बुझाउनुपर्ने व्यवस्था थियो। जमिनदारहरूले समयक्रममा थप उत्पादन माग्न थालेपछि किसानहरूमा असन्तुष्टि बढ्यो।
यही सामाजिक तनावको पृष्ठभूमिमा चौधौँ शताब्दीको आसपास किसानहरूले वामनको कथालाई भन्दा महाबलिको कथालाई बढी महत्त्व दिन थालेको उनको व्याख्या छ। अर्थात् महाबलि जनताको समानता र अधिकारको प्रतीक बने।