यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो दुई कारोबार दिन घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ७.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ९९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ३२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.१४ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २.०९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.०३ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४६ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटा उपसमूहमध्ये ८ वटा उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ। गत साता १४०२.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५१.५० अंक बढेर १४५४.२१ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ८३.०६ प्रतिशत बढेको छ। गत साता ७१४२.५१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ७२२५.५७ विन्दुमा पुगेको छ।
कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक भने यस साता सबैभन्दा बढी १.८० प्रतिशत घटेको छ। गत साता १३ हजार ५२०.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४३.४३ अंक घटेर १३ हजार २७६.७७ विन्दुमा झरेको छ।

नेप्सेमा यस साता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३७ लाख ८० हजार ४८० कित्ता बोनस शेयर र ५० लाख कित्ता निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८/८९ सूचीकृत भएको छ।

यस साता भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक १८.३१ प्रतिशत बढेको छ। गत साता ९२२ रुपैयाँ ९३ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार ९१ रुपैयाँ ९० पैसा रहेको छ। त्यस्तै, यस साता माइ खोला हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक १३.८६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नबिल ब्यालेन्स्ड फण्ड ३, एनआईबिएस समृद्धि फण्ड २, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलोपर्स, विशाल बजार कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

