सातामा २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 02, 2025 06:35 AM Merolagani



यस साता नेप्से परिसूचक २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २९८२.६४ विन्दुमा बन्द भएको नेप्से, यस साता २.०१ प्रतिशत अर्थात ६०.०१ अंक घटेर २९२२.६३ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घट्र बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १६.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७१ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा १९ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १९ अर्ब ३८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १.४७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २.८० प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४९ खर्ब ७७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब रुपैयाँ घटेर ४८ खर्ब ७६ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। गत साता ७८४९.१३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४१.०८ अंक बढेर ७९९०.२१ विन्दुमा पुगेको छ।

यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत घटेको छ। गत साता ७४४०.९५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यस साता ४.६९ प्रतिशत घटेर ७०९१.८२ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५९६.८५ अंक घटेको छ।

नेप्सेमा यस साता ७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ को २५ लाख कित्ता ऋणपत्र र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ७३ हजार ६९.२९ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

यस साता ट्रेड टावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ६१.०२ प्रतिशत बढेको छ। गत साता ६४८ रुपैयाँ २० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार ४३ रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै, यस साता सान्भि इनर्जी लिमिटेडको शेयरमूल्य ५४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चर ०८२/८३ को मूल्य यस साता सर्वाधिक १३.२४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ट्रेड टावर लिमिटेड, निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत, १० प्रतिशत प्राइम डिबेञ्चर २०८८ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, लक्ष्मी भ्यालु फण्ड २, हिमालयन ८०–२० लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।