देउवा फर्किए, पत्नी र छोरा बुहारी विदेशमैः भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा अब के होला ? सरकारले के गर्ला ?

Aug 13, 2026 05:53 PM Mero lagani



पाँच महिनाभन्दा लामो विदेश बसाइपछि नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् ।

नेपाली कांग्रेसको संस्थापन विरोधी पक्षले उनको भव्य स्वागत गरेको छ । उनको तर उनको लामो विदेश बसाइसँग जोडिएका धेरै प्रश्न भने उनीसँगै नेपाल फर्किएका छैनन्।

देउवा २५ फेब्रुअरीमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए। पछि उनी हङकङ पुगेको र लामो समय त्यहाँ रहेको विवरण सार्वजनिक भयो। तर पाँच महिनाभन्दा लामो विदेश बसाइको क्रममा उनी, आरजु र जयवीर कहिले कहाँ थिए, उपचार कहाँ भयो र त्यसको खर्च कसरी व्यवस्थापन भयो भन्नेबारे पर्याप्त सार्वजनिक विवरण आएको छैन।

देउवा बिहीबार काठमाडौं आइपुग्दा उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छोरा जयवीर सिंह देउवा र उनकी पत्नीको अवस्था भने अज्ञात छ । डा. आरजु शेरबहादुरसँगै सिंगापुर वा हङकङमा रहेको भनिए पनि उनीहरुका छोरा बुहारी भने कहाँ छन् भन्ने सार्वजनिक हुन सकेको छैन ।


देउवाको फिर्तीसँगै नेपालको राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने गम्भीर प्रश्न उठिरहेको छ । सबैभन्दा ठूलो कुरा नेपाली कांग्रेस अब कसरी अगाडि बढ्ला भन्ने छ । किनकी गत पुसमा भएको विशेष महाधिवेशन पछि देउवा पक्ष नेपाली कांग्रेस भित्रको प्रतिपक्षी गुट बनेको छ । विशेष महाधिवेशनलाई यो पक्षले अहिलेसम्म मान्यता दिएको छैन । पार्टीमा एकता कायम राख्नको लागि पटक पटक गरिएका प्रयासहरु असफल भएका छन् । र, यसै सन्दर्भमा आफ्नो रणनीति तयार गर्न बिहीबारदेखि ३ दिने भेलाको आयोजना गरिएको छ, जसमा सहभागी हुनकै लागि देउवा फर्किएका छन् । यो भेलाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्ला कि संस्थापनसँग थप वार्गेनिङ गर्ला ? त्यो कुरा भेला समापनसँगै स्पष्ट हुनेछ ।

अर्काे सबैभन्दा महत्त्वपूर्ण कुरा देउवा परिवारमाथि लाग्दै आएको भ्रष्टाचारको मुद्दा अब कसरी अगाडि बढ्ला ? विदेश हुँदा नै इण्टरपोल मार्फत पक्राउ पुर्जी जारी गराएर नेपाल ल्याउने तयारी गरेको सरकारले आफ्नो प्रयास असफल भएपछि भ्रष्टाचारका अनेक मुद्दामा उनीहरुलाई समात्ने रणनीति बनाइरहेकोमा शंका छैन । सरकारको निशानामा देउवा भन्दा पनि उनकी पत्नी आरजु र छोरा जयविर रहेको उनीहरुमाथि भइरहेका अनुसन्धानहरुले स्पष्ट पार्छ । सम्भवतः त्यहीकुरा बुझेर नै उनीहरु नेपाल नआएका हुन् ।

त्यसो त अर्कोतर्फ, देउवा स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। त्यसैले उनको आजको स्वदेश फिर्तीलाई अनुसन्धानबाट भागेको आरोपको स्वतः प्रमाण मान्न मिल्दैन। तर उनी फर्किएसँगै अब अनुसन्धान निकायले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी पनि उनीमाथि थपिएको छ।

देउवा परिवारमाथि अनुसन्धान कहाँसम्म पुगेको छ ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री देउवा, आरजु राणा देउवा र उनीहरूका छोरा जयवीरसहित परिवारसँग सम्बन्धित सम्पत्ति, कम्पनी, बैंकिङ कारोबार, लगानी र जग्गाजमिनको विवरण संकलन थालेको थियो। अनुसन्धानको दायरामा परिवारका नातेदारसम्मका आर्थिक कारोबार हेर्ने प्रक्रिया अघि बढाइएको थियो।

देउवा परिवारमाथि एउटा होइन, भ्रष्टाचारसँग सम्वन्धित अनेकौं अभियोगहरु छन् । ती मध्ये मुख्य मुद्दाहरु हुन्ः

१. नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम एउटा अडियो प्रकरणमार्फत सार्वजनिक बहसमा आएको थियो। यो घटनामा संलग्न भएको आशंकामा अहिले छानबिन भैरहेको बताइएको छ ।

२. टीकापुर जग्गा विवाद
आरजुको नाम कैलालीको टीकापुरस्थित जग्गासम्बन्धी विवादमा पनि जोडिएको छ। करिब ३० विगाह सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिएको विषयमा आरजुको संलग्नता रहेको र त्यसमाथि छानबिन चलिरहेको बताइएको छ ।

३.राहदानी खरिद प्रकरण
अझ पछिल्लो र औपचारिक अनुसन्धानको विषय भने राहदानी खरिदसँग सम्बन्धित छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब रुपैयाँ बराबरको ठेक्का प्रक्रियामा भएको अनियमितताबारे विस्तृत अनुसन्धान गरिरहेको छ। अख्तियारले यस प्रकरणमा बयानका लागि मन्त्री देउवालाई बोलाएको थियो भने विभागका पूर्वमहानिर्देशक र बिचौलियाहरूलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

यो प्रकरणमा तत्कालिन परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन सूचना दिएको थियो। उनले आफू विदेशमा उपचाररत रहेको भन्दै तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएकी थिइन्।

४ .सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जन

देउवा परिवारको नाममा पदमा रहँदा र नरहँदा अस्वाभाविक रूपमा अथाह सम्पत्ति आर्जन गरेको, विदेशमा लगानी गरेको र स्वदेशमै विभिन्न व्यावसायिक घरानाहरूमा बेनामी लगानी रहेको आरोप लाग्दै आएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीको आयस्रोत, बैंकिङ कारोबार र विभिन्न परियोजनाहरूमा रहेको लगानीको दायरा र स्रोतबारे अध्ययन तथा छानबिन गरिरहेको छ।

अर्काेतर्फ देउवा परिवारको पछिल्लो अनुसन्धानमा सबैभन्दा नयाँ मुद्दा जयवीर सिंह देउवाको नाममा देखिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जुलाईमा जयवीरलाई सात दिनभित्र बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो।

देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको थियो। तर सर्वोच्च अदालतले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश दियो।

यसरी पार्टी राजनीति पूर्णरुपमा गिजोलिएको र आफ्नो परिवारमाथि सरकारले कुनै पनि बेला धरपकड गर्न सक्ने सम्भावनाका विच देउवा फर्किएका छन् । सर्वाेच्च अदालतले पक्राउ नगर्न अन्तरिम आदेश दिएकोले तत्काल पक्राउ पर्दैनन कि भन्ने अनुमान गरिए पनि अहिले सरकारको कार्यशैली हेर्दा सम्भवतः स्वंय देउवा पनि निश्चिन्त छैनन् । यस्ता आशंकाहरुबीच फर्केका देउवाले पार्टी एकता राख्नको लागि, आफ्नो परिवारमाथि लागेका अभियोगहरुको प्रतिरक्षाको लागि के कस्ता रणनीति अपनाउलान् त्यो भने केही दिनमै स्पष्ट हुनेछ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।