यस दिन नेप्से परिसूचक १०.५० अंक घटेर २७८५.७४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ७० हजार ९९ पटकको कारोबारमा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन माया खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चरको मूल्य सर्वाधिक ९.४८ प्रतिशत घटेको छ। कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेकाे छ। यस दिन विकास बैंक, वित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन व्यापार उपसमूहकाे परिसूचक सर्वाधिक १.५० प्रतिशत घटेकाे छ। बाँकी घटेका उपसमूहहरुको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।