प्रि ओपन सेसनमा नै उच्च अंक घटेको नेप्से, नियमित बजार खुलेको २ मिनेट २२ सेकेन्डमा नै ४ प्रतिशत घटेपछि पहिलो सर्किट लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। ११ बजेर २२ मिनेट २२ सेकेन्डमा खुलेको बजार, ११ बजेर २३ मिनेट २५ सेकेन्डमा नै थप एक प्रतिशत घटेपछि दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटको लागि स्थगित हुन पुग्यो।
दोस्रो सर्किटपश्चात १२ हजार ३ मिनेट २५ सेकेन्डमा खुलेको बजार केही सम्हालिन खोजेजस्तो देखिएपनि सफल हुन सकेन। अन्ततः १२ बजेर ६ मिनेट ९ सेकेन्डमा नेप्से ६ प्रतिशत घटेपछि यस दिनका लागि शेयर कारोबार बन्द भएको हो।
यस दिन कुल ६ मिनेटको कारोबारमा नेप्से ६ प्रतिशत घटेको हो।
बिहीबार नेप्से परिसूचक १६०.३३ अंक घटेर २५११.९१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २६.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.२५ अंक घटेको छ।
६ मिनेटमा कुल २३८ स्टकको ७ हजार ४३५ पटकको कारोबारमा ७२ करोड ८७ लाख २ हजार ८३० रुपैयाँ ७० पैसाबराबरको १७ लाख ५२ हजार ७८१ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन हिमस्टार उर्जा कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४३ रुपैयाँ बढेर ४७३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। मूल्य बढेको अन्य स्टकहरुको वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ। यस दिन १५ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड ८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिईडिबी होल्डिङ्गसको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम ३० करोड ७४ लाख रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा उपसमूहको परिसूचक साढे ६ प्रतिशत घटेको छ।