त्यहीक्रममा पछिल्लो समयमा विश्वमा अलग्गै खालको युद्ध चर्केको देखिएको छ । ‘जीपीएस युद्ध’ को कारण विश्वको हवाई उड्ययन उद्योग अस्तव्यस्त बन्ने देखिएको छ । कृत्रिम वौद्धिकता अर्थात् एआई प्रयोग गरेर शुरु गरिएको यो युद्ध अहिलेसम्मकै युद्धको सबैभन्दा अनौठो स्वरुप भएको सुरक्षा विशेषज्ञहरुले बताएका छन् । स्विटजरल्याण्डमा रहेको एसकेएआई डेटा सर्भिस कम्पनीका अनुसार स्पूफिङका कारण विश्वभरिमा दैनिक ८०० वटासम्म उडानमा यस्तो समस्या देखिने गरेको छ।
आकासमा उडिरहेको जाहाजमा अचानक गलत सूचना प्रवाह गर्ने र पाइलटलाई गलत दिशामा जहाज उडाउन निर्देशित गर्नुलाई नै हवाई उड्यन क्षेत्रका जानकारहरुले ‘जीपीएस युद्ध’ भनेका छन् । यसले गर्दा जहाजहरुलाई लक्षित स्थानभन्दा अर्कै ठाउँमा अवतरण गराउने, लडाईको लागि प्रयोग गरिने जहाजहरुलाई दिग्भ्रमित गराउने गर्छन् ।
यस्तो काम कसले शुरु गरिरहेको छ भन्ने बारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, त्यसको लागि ‘जीपीएस स्पूफिङ’ भन्ने एक किसिमको झुक्क्याउने प्रविधि प्रयोग गर्ने गरिएको र त्यो एआईमार्फत संचालन गर्ने गरिएको बेलायती समाचार संस्था विविसीले उल्लेख गरेको छ ।
त्यसो त ‘स्पूफिङ’ सुरक्षा निकाय, खासगरि युद्धमा सामेल हुने सैनिकहरुको लागि नयाँ कुरा होइन, यो धेरै पहिले देखि प्रयोग हुँदै आएको छ । त्यसको लागि सैनिकहरूले ट्रान्स्मिटरहरुलाई निश्चित ठाउँमा राख्ने वा गाडीहरूमा राखेर डुलाउने गर्छन्। तर, अहिले भने एआईलाई प्रयोग गरेर जुनसुकै जहाजहरुको ‘न्याभिगेशन’ प्रणाली नै अवरुद्ध गरिदिने वा गलत सूचनाहरु प्रवाह गर्ने गरेको पाइएको छ ।
युरोपेली ककपिट असोसिएशनकी अध्यक्ष तान्जा हार्टर यो प्रणालीले पहाडजस्ता अवरोधमा विमान ठोक्किने अवस्था सृजना गर्ने सम्भावना बढिरहेको चेतावनी दिएकी छन् ।
हार्टरका अनुसार ३७,००० फीट माथि उडिरहँदा पनि विमानलाई अझै माथि लैजान वा अर्कै दिशामा मोड्न गलत चेतावनीहरू दिने गरेको पाइएको छ, जुन सरासर दुर्घटना गराउनु नै हो । त्यस्तोमा राडारहरुलाई समेत दिग्भ्रमित बनाउने गरेको उनको भनाई छ । ‘एउटा दिशामा उडिरहेको अवस्थामा त्यो नभई अर्कै दिशामा उडिरहेको देखाएपछि पाइलट झुक्किनु त स्वभाविक नै हो । पाइलटलाई सूचना नै गलत भए पछि दुर्घटनाको सम्भावना त यसै बढिहाल्छ । त्यसैले यो हवाई उड्ययन क्षेत्रकै अहिलेसम्मकै सबैभन्दा ठूलो समस्या बनेको छ’ उनी भन्छिन् । खासगरि उडान अनुभव कम भएका पाइलटहरु यस्तो समस्याबाट अत्तालिने गरेको उनको भनाइ छ ।
युरोपेली ककपिट असोसिएशनले ‘जीपीएस स्पूफिङ’ का घटना बढ्न थालेपछि त्यस्तो अवस्थामा
जीपीएस प्रणाली सम्पर्कविच्छेद हुनेजस्ता अवस्थामा के गर्ने भनेर जानकारी दिन पाइलटहरूलाई एउटा निर्देशिका नै बनाएको छ।
त्यसो त विभिन्न देशहरूले कानुन बनाएरै जीपीएसमा हस्तक्षेप गर्ने गरेका छन् । अर्थात विशेष परिस्थितिमा त्यस्तो गर्नु गैरकानुनी चाहिँ होइन । प्रसारण सिग्नलहरू नियमन गर्ने इण्टरनेशनल टेलिकम्युनिकेशन यूनियनले पनि सुरक्षा प्रयोजनका लागि देशहरूले यस्तो काम गर्न रोक लगाएको छैन। तर यसको व्यापक प्रयोगले विमानहरूको सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।