गत अशोज ३० गते बोर्डको अध्यक्षको नियुक्ति लिएका कार्की कात्तिक १ गतेबाट बोर्डमा हाजिर भए । कार्की कै भनाईमा सोही दिनबाट उनले सुधार कार्यक्रम सार्वजनिक गरे । सय दिनको अवधिमा बजारमा लामो समयदेखि हुन नसकेका महत्वपुर्ण कामहरु भए नि ? भन्ने मेरो लगानीको प्रश्नमा कार्की भन्छन्, “काम गर्ने उचित वाताबरण अझै पाउन सकिरहेको छैन । गर्नुपर्ने धेरै काम छन्, केही कामहरु गर्ने प्रयास बोर्डले मेरो नेतृत्वमा गरेको छ । जसले बजारलाई आधुनिक बाटोतर्फ डोर्याउने विश्वास मैले लिएको छु ।”
बजार सुधार तथा तथा विकासको योजना, नियमकको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा कार्कीले कार्यक्रम अघि बढाए । बजारलाई कुनै पनि हालतमा आधुकिकीकरण तर्फ लैजाने लक्ष्यका साथ बोर्डले ७ बुँदे बजार सुधार कार्यक्रम सार्वजनिक गर्यो ।
यसै अन्तरगतका मुख्य कामहरु मध्येको लगानीकर्ताको हितमा भएको महत्वपुर्ण काम हो मार्केट डेफ्थ हेर्ने व्यवस्था । कार्की नेतृत्वमा आएलगत्तै नियमित रुपमा छलफल तथा अन्तरकृया चलाउने क्रमलाई तिब्र बनाएको बोर्डले पुस मसान्तसम्ममा अनिवार्य रुपमा शेयर डिम्याट गराउन सुचिकृत कम्पनीलाई निर्देशन दियो । त्यसै गरि माघ ३ गतेबाट डिम्याट शेयरको कारोबारलाई अनिवार्य गराउन उसले निर्देशन दियो ।
गैर आवासिय नेपालीलाई पनि जारमा प्रवेश गराउने, बजारमा सबैको सहभागिता बढाउन जेष्ठ तथा वृद्ध नागरिक र अशक्त लक्षित पुर्वाधार निर्माणमा लाग्न पनि उसले सरोबारवालाई निर्देशन दियो । बजारका सम्बन्धमा अधिक मात्रामा गुनासो आउन थालेको भन्दै बडापत्र तथा गुनासो सुन्ने व्यवस्था अनिवार्य गराउन निर्देशन दिंदै बोर्डले नियमित रुपमा यस्ता काम भए नभएको बारे अनुगमन गर्दै आएको छ ।
यसका अलावा बजारको सुपरिवेक्षण र बजार सुदृढिकरणमा अघि बढेको बोर्डले सुपरिवेक्षण म्यानुअल बनाउने प्रकृया अघि बढाएको छ । यस क्रममा बोर्डले सरोकारवाला सबै पक्षको टालीलाई भारतको नेशनल स्टक एक्सचेञ्ज तथा बीएससी लिमिटेड (तत्कालिन बम्बई स्टक एक्सचेञ्ज)को भ्रमण गराएको छ । भ्रमणका दौरान ब्रोकरको ओपन एक्जिट, लाइसेन्स बितरण प्रणाली, सुपरिवेक्षण प्रणाली, रियल टाइम सर्भिलेन्स डिपोजिटरीको सहज प्रयोग लगायत सम्बन्धमा अवलोकन गराएको छ ।
यसै दौरानमा यहि माघ २६ गते शेयर दलाल कम्पनी तथा मर्चेण्ट बैंकरहरुको टोलीलाई बोर्डले भारतको पूँजी बजार अवलोकनका लागि लैजाने तयारी पुरा गरेको छ । उक्त भ्रमणबाट ब्रोकरको कार्य क्षमता अभिवृद्धिदेखि समसामयिक विषयलाई सुधार गर्न टेवा पुर्याउने विश्वास बोर्डका अध्यक्ष कार्कीले लिएका छन् ।
यसै गरि बोर्डले शेयर बजारलाई पुर्ण अनलाइन प्रणालीमा रुपान्तरण गर्नका लागि सरोकारवालासंग छलफल तथा अन्तरकृया गरि उनीहरुबाट सल्लाह सुझाव संकलन गरिरहेको छ । प्राथमिक शेयर निष्काशनका दौरानदेखि दास्रो बजारको कारोबार प्रणालीलाई कसरी अटोमेशनमा लैजाने भन्ने सम्बन्धमा सुझाव संकलन गरिरहेको बोर्डले केही समय पछि आवश्यक प्रकृया अघि बढाउने छ ।
राजधानी केन्द्रित डिपि सेवालाई बोर्डले माफसलमा पनि बिस्तार गरेको छ । यस क्रममा पोखराबाट औपचारिक रुपमा यसको सुरुवात पनि भैसकेको छ । निकट भविष्यमा सबै शहरहरुबाट सेवा प्रवाह गर्ने तयारी बोर्डले गरेको छ । डिपि कम्पनीहरुसंगको सहकार्यमा बोर्डले प्रभावकारी सेवा राजधानी बाहिरबाट पनि दिने तयारी गरेको हो ।
संस्थागत लगानीकर्ताको प्रतिनिधिहरुको सुद्धिकरणका लागि बोर्डले सबै शेयरदलाल कम्पनीहरुबाट संस्थागत लगानीकर्ताको तथ्यांक मगाएर दाहोरो भुमिकालाई निरुत्साहित गर्न पहल कदमी चाल्ने भएको छ । यसका लागि बोर्डले नेप्सेलाई पनि सन् २००७ देखिको सबै किसिमका लगानीकर्ता तथा कारोबारको डाटा उपलब्ध गराउन निर्देशन दिएको छ । सबै तथ्यांकको अध्ययन गरि बजारलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने तयारीमा बोर्ड रहेको छ ।

सरोकारवाला पक्षहरुलाई समेटी बोर्डले बजारमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि एउटा समन्वय समिति गठन गरेको छ । शेयर दलाल, मर्चेण्ट बैंकर, नेप्से, सिडिएसका साथै लगानीकर्ताका प्रतिनिधि सहितको उक्त समितिलाई चुस्त रुपमा काम गर्न सक्ने बनाउन आवश्यक गृहकार्य गर्ने बोर्डको तयारी छ ।
बोर्ड आफैं जनशक्ति तथा पुर्वाधरमा कमजोर अवस्थामा रहेको अवस्थालाई हेर्दै आन्तरिक सुधारमा सक्रियता बढाएको बोर्डले आफुसंग सहमतिमा अघि बढ्न नेप्सेलाई गत साता मात्रै निर्देशन दिएको छ । शेयर दलाल कम्पनीलाई राजधानी बाहिर बिस्तार गर्ने सम्बन्धमा उसले कार्यदल बनाएर सहमतिमा मात्र यस्ता काम गर्न निर्देशन दिएको हो ।
त्यसै गरि बोर्डले नेप्सेको वेबसाइटमा सुचिकृत कम्पनीले सिधै सुचना प्रकाशन गर्न सक्ने गरि नेप्सेले गरिरहेको प्रकृया सुधार गरि एकरुपता ल्याउन तथा सुचनालाई प्रमाण्किरण गरेर मात्र प्रकाशन गर्न पनि निर्देशन दिएको छ । यसले गलत सुचनाको प्रवाह हुन सक्ने सम्भावनालाई न्युनिकरण गर्दै बजारलाई अनुसाशित बनाउने अपेक्षा बोर्डले लिएको छ ।
अनिवार्य डिम्याट कारोबार सुरु गराएको १ महिना नबित्दै बोर्डले सबै सुचिकृत कम्पनीहरुलाई बोनस शेयर तथा हकप्रद शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिन निर्देशन दिएको छ । यसले लगानीकर्ताको दौडधुपलाई अन्त्य गरि सहजै आफुले पाउने शेयर खातामा पाउने छन् ।
अहिले जसरी प्रत्येक वर्ष शेयर रिजष्ट्रारकोमा शेयर प्रमाणपत्र संकलन गर्न दौडिनु पर्ने बाध्यताबाट लगानीकर्ताले मुक्ति पाउने छन् । यसका लागि लगानीकर्ताले डिम्याट खाता खोली उक्त खाता नम्बर सम्बन्धित शेयर रजिष्ट्रार तथा कम्पनीमा बुझाउनु पर्ने हुन्छ ।
शेयर दलाल कम्पनीको कार्यक्षेत्र बिस्तारका लागि कम्तीमा १० दलाल कम्पनीलाई मिलेर एउटा डिपि कम्पनी स्थापना गर्न सक्ने व्यवस्था गरेको छ । अहिलेको डिपिको चापलाई यो कदमले केही हदसम्म न्युनिकरण गर्ने अपेक्षा बोर्डले गरेको छ ।
अहिले ग्लोबल आइएमई बैंकले मात्र क्लियरिंग बैंकको काम गरिरहेको सन्दर्भमा बजारको आकार बढेको भन्दै बैशाख १ गतेबाट कम्तीमा पनि थप २ वटा क्लियरिंग बैंक सञ्चालन गराउने प्रकृया अघि बढाएको छ । यसका लागि उसले नेप्से र सिडिएस एण्ड क्लियरिंग लिमिटेडलाई आवश्यक प्रकृया अघि बढाउन निर्देशन समेत दिईसकेको छ ।
इन्भेष्टर आइडी अनिवार्य गराउन कुन मोडेलमा जाने भन्ने सम्बन्धमा छलफललाई तिब्र बनाएको बोर्डले छलफलका क्रममा आउने सुझावका आधारमा थप काम गर्ने र अहिले सामान्य प्रकृयाको जानकारी संकलन गर्ने काम गरिहरहेको छ ।
केही समय अघि झुठो शेयर कारोबार गराएका ३ वटा दलाल कम्पनीहरुको तहकिकात पुरा गरि बोर्डले अनुसन्धान प्रकृया अघि बढाएको छ ।
यसका साथै आन्तरिक सुधारलाई प्राथमिकतामा राखेको बोर्डले नियमित बैठक बस्ने परिपाटीको विकास गरि सुचना प्रवाह तथा सम्प्रेषणलाई प्रभावकारी बनाउने काम गरेको छ । आफुले गर्ने सबैजसो काम तथा कृयाकलापलाई लगानीकर्ता तथा सरोकारवालासम्म पुर्याउन अझै स’धारका काम गर्दै लैजाने बोर्डको तयारी छ ।
बोर्डमा जनशक्ति थप गर्न केही समय अघि सुचना प्रकाशन गरे पनि प्रकृया अघि नबढेको सन्दर्भमा पदपुर्तिको प्रकृया अघि बढाएको बोर्डले फागुन अन्तिमदेखि चैत पहिलो सातासम्ममा परीक्षा सञ्चालन गरि छिटो भन्दा छिटो जनशक्ति थपेर कार्यप्रणालीलाई अझै चुस्त दुरुस्त बनाउने महत्वकांक्षी योजना अघि सारेको छ ।
- धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसंगको कुराकानीमा आधारित ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।